Thursday, August 6, 2020

जनै र म

‪स्कुल पढ्ने ताका मेरो एकजना उपाध्याय बाहुन साथीले मजाकै मजाकमा मलाई भन्याथ्यो तिमिहरु जैंसी भन्दा हामि माथीको हो । “बाहुन भन्दा माथी जात हुन्न टुप्पी भन्दा माथी थात हुन्न “ यो चैं मलाई हेपेर भनेक थ्यो । तर मलाई रिस वा नराम्रो केही लागेन किनकी हामि उसका बाहरुलाई भेटे खुट्टामा ढोग्थ्यौं । ८-९ कक्षा पढ्ने बेलामै  उनिहरु जनैं लगाउँथे । कैले  कैले कुनै पुजा पाठ गर्दा ब्राह्मण को अभाव भयो भने बाउहरुले साथमै लिएर जान्थे। अरु नजाने पनि होम गर्न लाई सबै मन्तर जान्न नपर्ने रहेछ बाउहरुले सिकाउंथे तेही कुरा दोरोर्याउने रहेछ । 

‪डोरो बान्ने पुर्णिमाको दिन कोही पनि स्कुल आउँदैनथे । पुरै गाउँ डुलेर जजमानको घरमा डोरो पुर्याउँथे । हाम्रो नाडी देखी कुईना सम्म कसले धेरै डोरो बान्ने भनेर प्रतिस्पर्धा नै हुन्थ्यो । जती धेरै बाहुन घरमा आउंथे हामि तेतीनै दङ्ग पर्थ्यौं । 

‪उपाध्याय बाहुन साथीहरु तुलनात्मक रुपमा हामि भन्दा पढाईमा अब्बल नै थिए । स्कुल टप गर्ने देखी कक्षामा पनि पहिलो देखी चौथो सम्म लग्भग उनै हुन्थे  कैले कैले तेस्रो र चौथो हामीले भेट्थ्यौं नत्र जैले उनिहरुनै । अहिले पनि तिनिहरु कतै न कतै लोकसेवा पास गरेर जागीरे नै छन् ।
हामि जैंसी हरु चैं पढ्न त पढ्ने तर लगभग सबै बिदेस हानियौं । यसपाली नेपाल जांदा एकजना संग भेट भयो जिल्ला अदालत अर्घीखांचीमा जागिरे रहेछन् । म संगको छोटो भेटमा उनले भन्दै थे तिमि पन्थीहरु कसैले पनि किन नेपालमै बसेर जागीर खाने सोंचेनौ?? सप्पै नै पढाई र कामको लागी भनेर बिदेशनै हानियौ। 

‪हल्का मन चस्क्क भाको थ्यो सुन्दा । हुन पनि अदालत , गाउँको स्कुल , फार्मेसी , ल्याब लगायत सबै तिर अहिले लगभग हाम्रो ब्याचका जागीरे छन् । तर तिनैका दिदी बहिनी हरु भने ९-१० मै पढ्दा बिहे गरेर सक्किन्थे । एकजना पनि छैनन् होला +२ सक्काएका । छोरीहरुलाई चैं हेपेकै हुन। 

‪यो गन्थन चैं जनैको बिषयमा लेख्चु भनेर सोंचेको अली बढी नै भयो केरे । अब ट्र्याकमै आएँ । 😂‬
‪ ९-१० मै पढ्ने बेला मैले  उपाध्याय साथीहरुको जनै देखेर बा लाई भनेको थें बा मलाई पनि जनैं लाईदिनुस । बा ले झपार्दै भन्नुन्तो पैला अलिक पढेर ब्या गर्ने हो अनि बल्ल लगाउलास । 

‪हुन पनि हामि पांच भाई छोराहरु कसैको पनि छिटो धुमधाम गरेर बर्तबन्ध भएन । सप्पैको बिहे हुने दिनको एक हप्ता अगाडी भयो । 😂  अझ कसैको त बिहान जनै लगाएर दिउँसो बिहे भो । पैले खासै के खान्चन् के गर्चन भनेर वास्ता नगर्ने बा ले जनै लगाए पछी खुप ख्याल गर्न थाल्नओ । यस्तो नखानु उस्तो नखानु भनेर सम्झाई रहनुभो । तर जनैं चैं कसै को पनि साथमा हुन्नथ्यो । मेरो त यताबाट फर्केसी बर्तबन्ध भएको एक हप्तामा बिहे भो । खुप रहर गरेर जैले लगाएर राखें । यता फर्केसी पनि केही समय त लगाएं । केही आस्था वा बिस्वास भएर भन्दा पनि मलाई रमाईलो लागेथ्यो र लाग्छ पनि अझै 

‪गत बर्ष नेपाल जांदा घर पुगेको अर्को बिहान बाले नुहाएपछी जनै फेर्न लगाउनुभो (बालाई लागेको थियो मसगं जनै छ साथमा )बनमा चर्न गएको गाईले के खायो के खाएन , के गर्यो के गरेन तर घरमा आएसी चोखो बन्न पर्च भनेर  केही थान ध्वजा दिएर कुन ,कुल्यान ,देवी देवताहरुलाई चढाउन भन्नु भो र सुनपानी छर्केर  कन्या हरुलाई टिका लगाएर दक्षिणा दिन भन्नुभो । मैले सप्पै गरें खुरु खुरु । बडा रमाईलो हुनेरहेछ हेर्नुस । मनै आनन्दित हुने । तेती गरेपछी बा पनि खुस । अनि बल्ल भान्सा छिरियो । 😂 कुरो बुझ्नु भो नि ??  यता फर्कंदा बाले  ७ वटा जनै दिएर पठाउनु भाथ्यो । आउँदा त 
साथमा जनै थ्यो । पछी भलिवल खेल्न जांदा टिसर्ट बाट बाहिर निस्केको निस्कै गर्यो र निकालेर फालेको अझै लगाको छैन ।  यो जनै भन्ने जिनिस मेरो लागी रमाईलो बाहेक केही लागेन । यो लगाएपछी बन्धन हुन्छन् भनेर हाम्रो दिमागमा अनेकन् कुरा भरिदिन्छन् । सायद समय संगै ति कुरा हट्लान । 
बाहुन भै राख्न बडा मुस्किल रच बुझ्नु भो नि ?😂